नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोसहित खसेको ढुंगाले लागेर चालक र सहचालक घाइते
रौतहटको गौरबाट काठमाडौंकालागि हिँडेको रात्री बसमा नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरा झर्ने स्थानमा शनिबार खसेको ढुंगाले लागेर चालक र सहचालक घाइते भएका छन् ।
गौरबाट आउँदै गरेको ना५ख २१६५ नम्बरको रात्री बसमा उक्त खण्डको घुमाउने भन्ने स्थानमा पहाडबाट खसेको ढुंगाले लागी चालक सर्लाही राजघाट–२ का टंककुमार र सहचालक चन्द्रपुर नगरपालीका–१० का मनोहर चौधरी घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए ।
‘पहिरो खस्ने स्थानमा माथिबाट खसेको ढुंगाल लागी दुवै सख्त घाइते भएका हुन्,’ उनले भने । घाइतेलाई उपचारकालागि काठमाडौं पठाइएको उनले बताए ।
लगातारको वर्षा पछि खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक दिनहुँ पहिरोले बन्द हुने गरेको छ । पहिरोका कारण सडकका अधिकांश भागमा ढुंगा र माटो थुप्रिएका छन् ।
जसले सडक साँघुरो बनेको छ । पहिरोको त्रासले ठूलाका चालकले अत्तालिएर गाडी चलाउँदा ठुलै दुर्घटना निम्त्याउन सक्ने प्रहरीले बताएको छ ।
यस खण्डको जलवीरे र कालीखोला पहिरो प्रभावित स्थान हुन् । यी ठाउँमा पुग्दा यात्रु बढी डराउने गर्छन् । ‘मुग्लिनबाट ४ किलोमिटर पश्चिम क्षेत्र अहिले निकै जोखीम भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।
खनालका अनुसार गाईघाट, घुमाउने, जलवीरे र कालीखोला जोखिमयूक्त क्षेत्र हुन् । असारको सुरुदेखि पहिरोको जोखिम बढेको हो । पानी परेपछि खस्ने पहिरो र ढुंगाले सवारी साधन पुरिने खतरा बढी छ । ‘आधा दर्जन भन्दा बढी सवारी साधन पुरि सकेका छन,’ इन्जिनियर खनालले भने, ‘मानविय क्षति भएको छैन ।’
उनका अनुसार सोमबार राति सडकमा रोकिराखेको कार ढुंगा सहित खसेको पहिरोले पुरिएको थियो ।
प्रहरीका अनुसार अहिलेसम्म दुईवटा बस, कार, ट्रक, आयोजनाका २ स्काइभेटर पुरीसकेको छ । नारयणगढदेखि मुग्लिनसम्म ३६ किमी दुरी छ । दैनिक करिब ८ हजारभन्दा बढी सवारी साधन गुड्छन् । सामान्यतया १ घण्टा १० मिनेट समय लाग्ने सडक छिचोल्न पहिरो खसेको दिन एक दिन लाग्छ । ट्राफिक व्यवस्थापन गर्न सडक खण्डको सिमल तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
प्रहरी सहायक निरिक्षकको कमाण्डमा २ जना ट्राफिक सहित ११ प्रहरी खटाइएको छ । ‘यो पहिरो प्रभावित क्षेत्र हो,’ एसपी कुवँरले भने, ‘सडक आगमनलाई सहज बनाउन प्रहरी पोष्ट स्थापना गरेका हौं ।’ उनका अनुसार पहिरो प्रभावित क्षेत्र गाईघाटदेखि ४ किलोलाई मध्य नजर गर्दै सिमलतालमा प्रहरी बिट स्थापना गरिएको हो


0 comments
Write Down Your Responses