• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Videos » अब बोनम्यारो प्रत्यारोपण नेपालमै ६ महिनाभित्र गर्ने
अब बोनम्यारो प्रत्यारोपण नेपालमै ६ महिनाभित्र गर्ने

चिकित्सक र बिरामीको लामो संघर्षपछि सरकारले

अब बोनम्यारो प्रत्यारोपण नेपालमै

निर्णय गरेको छ। आर्थिक अभावले विदेशमा पुगी बोनम्यारो प्रत्यारोपण गर्न नसक्दा सयौं नेपालीले ज्यान गुमाइरहेका बेला बिहीबारको मन्त्रिपरिषद् बैठकले आगामी ६ महिनाभित्र कुनै एक सरकारी अस्पतालमा त्यससम्बन्धी सेवा दिने निर्णय गरेको हो। स्वास्थ्यमन्त्री रामजनम चौधरीका अनुसार सरकारले बोनम्यारो प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गर्न बिहीबारै स्वास्थ्य मन्त्रालयलाई समेत निर्देशन दिएको छ।
 'नेपालकै कुनै एक सरकारी अस्पतालमा आगामी ६ महिनाभित्र बोनम्यारो प्रत्यारोपण गर्ने निर्णय सरकारले गरेको हो', स्वास्थ्यमन्त्री चौधरीले अन्नपूर्णसँग भने, 'बोनम्यारो प्रत्यारोपणको सेवा दिनका लागि आवश्यक उपकरण जडान गर्नेदेखि जनशक्ति जुटाउनेसम्मको तयारी गर्न हामीलाई पनि निर्देशन आएको छ। हामी निर्देशनअनुसार छिट्टै काम थाल्नेछौं। यसअघि पनि हामीले आन्तरिक रूपमा छलफल गरेका थियौं।' स्वास्थ्यमन्त्री चौधरीले कुन सरकारी अस्पताललाई बोनम्यारो प्रत्यारोपण सेवाको जिम्मा लगाउने भन्नेबारे भने बैठकले कुनै निर्णय नगरेको बताए। बोनम्यारो प्रत्यारोपणको सेवा दिने उद्देश्यले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल तयारी अवस्थामा रहे पनि राष्ट्रिय जनस्वास्थ्य कार्यालयबाट स्वीकृतिपत्र नपाउँदा समस्या भएको थियो। उक्त अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवाका लागि आवश्यक उपकरण जडान गरिसकिएको छ भने जनशक्ति पनि तयार गरिएको छ।
बोनम्यारो प्रत्यारोपण सेवा दिनका लागि अस्पतालका रक्त रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. विशेष पौड्याललगायत बर्सौंदेखि सरकारसँग लड्दै आएका थिए।
 बिरामीसमेत उपचारको याचना गर्दै स्वास्थ्य मन्त्रालयमा धाउने गरेका थिए।'यसअघि हामीलाई मन्त्रालयमा बोलाएर पनि पटकपटक छलफल भएको छ', अस्पतालका निर्देशक डा. विमल थापाले भने, 'अब जसले तयारी गरेको छ उसैलाई बोनम्यारो प्रत्यारोपण सेवा दिन स्वीकृत देला नि सरकारले।' यसअघि एक निजी अस्पतालमा पहिलोपटक बोनम्यारो प्रत्यारोपण गर्दा आफूसँग स्वीकृति नलिएको भन्दै सरकारले बन्द गरिदिएको थियो। आर्थिक अभावले बोनम्यारो प्रत्यारोपण गर्न नसक्दा बालबालिकाले समेत ज्यान गुमाउन बाध्य भएको भन्दै दबाब दिएपछि सरकारले यस्तो निर्णय गरेको हो। पौड्यालका अनुसार बोनम्यारो प्रत्यारोपणको आवश्यकता भएका बिरामी नेपालमा बढ्दै गएका छन्। एप्लास्टिक एनिमिया, थालासेमिया, रगतसम्बन्धी केही क्यान्सरका बिरामीलाई बोनम्यारो प्रत्यारोपण आवश्यक पर्ने गरेको छ।
बोनम्यारो प्रत्यारोपण रगत दान गरेजस्तै भएकाले गरिसकेपछि दातालाई कुनै असर नपर्ने चिकित्सक बताउँछन्। बोनम्यारो प्रत्यारोपण गर्दा दाता र बिरामीको रक्तसमूह मिल्नुपर्छ भन्ने नभएको पौड्यलले बताए। दाता र बिरामीको विशेष प्रकारको रगतको जाँच गरिन्छ। दुवैको एचएलए मिल्यो भने बोन प्रत्यारोपण गरिन्छ। चिकित्सकका अनुसार आफ्नै दाइ, भाइ, दिदी, बहिनीको एचएलए मिल्ने सम्भावना २५ प्रतिशत हुन्छ भने अन्यको मिल्ने सम्भावना एक प्रतिशत हुन्छ।

Labels: Health, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana