• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Videos » हेपाटाइटिस उन्मूलन सम्भव ! यी जीवाणुको संक्रमणको कारण कलेजोमा क्यान्सर पनि हुनसक्छ।
हेपाटाइटिस उन्मूलन सम्भव ! यी जीवाणुको संक्रमणको कारण कलेजोमा क्यान्सर पनि हुनसक्छ।

श्रावण १३, २०७३- नेपालमा करिब १ लाख ३० हजार हेपाटाइटिस सी र २ लाख ५० हजारजना हेपाटाइटिस बीबाट दीर्घकालीन रूपमा संक्रमित छन्। वैदेशिक रोजगारीमा जाने वा रक्तदान क्रममा रगत परीक्षण गर्दा केही व्यक्ति आफू संक्रमित भएको थाहा पाउने गर्छन्। तर कुनै लक्षण देखिनहाल्ने भएकोले प्राय:जसो संक्रमित व्यक्ति यसबारे अनभिज्ञ छन्। यी जीवाणुको दीर्घकालीन संक्रमणले कलेजोमा क्रमश: खतहरू बस्दै जान्छन् र अन्त्यमा कलेजोले कामै गर्न नसक्ने अवस्था हुन्छ। 
यो अवस्थालाई सिरोसिस भनिन्छ। दीर्घकालीन हेपाटाइटिसको संक्रमणका कारण कलेजोमा क्यान्सर पनि हुनसक्छ। कलेजोको सिरोसिस र क्यान्सर भइसकेपछि निदान र उपचार त्यति प्रभावशाली हुँदैन। त्यसैले दीर्घकालीन हेपाटाइटिस लागिसकेपछि समयमै यसको निदान र उपचार गरेमात्र सिरोसिस र कलेजोको क्यान्सरबाट जोगिन सकिन्छ। हेपाटाइटिस बी र सी विश्वभरि नै कलेजोको क्यान्सर र सिरोसिसको प्रमुख कारक बन्न पुगेको छ। समयमा ध्यान नपुर्‍याउने हो भने यसले विकराल रूप लिने निश्चित देखिन्छ। यही विषयलाई मनन गरेर यस वर्षको वल्र्ड हेल्थ एसेम्ब्लीले सन् २०३० सम्ममा विश्वबाट हेपाटाइटिस उन्मूलन गर्ने प्रस्ताव पारित गरेको छ। बिफर र पोलियो उन्मूलन कार्यक्रमजस्तै यो संकल्प पुरा भए यस सफलतालाई मानव सभ्यताकै कोशेढुंगाका रूपमा लिइनेछ। अहिले यस चुनौतीसँग जुध्न धेरै राष्ट्रले कम्मर कस्न थालेका छन्। हेपाटाइटिस सी विरुद्ध अति प्रभावकारी औषधी डीएए (डाइरेक्टली एक्टिङ एन्टिभाइरल) न्युनतम मूल्यमा उपलब्ध भएलगत्तै धेरै विकासोन्मुख राष्ट्रले पनि हेपाटाइटिस सी निर्मूल गर्ने जमर्को सुरु गरेका छन्।
 नेपालजस्तो विकासोन्मुख राष्ट्रमा हेपाटाइटिस उन्मूलन सजिलो पक्कै छैन। जबसम्म हेपाटाइटिस रोगसम्बन्धी राष्ट्रिय स्तरमा कुनै नीति बन्दैन र सरकारी निकायबाट प्रभावकारी कार्यक्रम सुरु हुँदैन, तबसम्म हेपाटाइटिसको उन्मूलन लगभग असम्भव नै देखिन्छ। नेपालमा हेपाटाइटिस लागेका आधाभन्दा बढी व्यक्तिलाई आफू संक्रमित भएको हेक्का नै छैन। कुनै कारणवश रगत परीक्षण गर्दा हेपाटाइटिस लागेको थाहा भइहाले पनि समाजमा व्याप्त नकारात्मक दृष्टिकोणले गर्दा धेरै बिरामी आफ्नो रोग लुकाउन बाध्य छन्। हेपाटाइटिस रोगको उपचार पद्धति र विशेषगरी हेपाटाइटिस सी विरुद्ध अति प्रभावकारी औषधी डीएएबारे पनि यस रोगबाट पीडित बिरामीहरू अनभिज्ञ छन्। हेपाटाइटिस बी र सीको उपचारका लागि दक्ष चिकित्सक (कलेजो रोग विशेषज्ञ) को संख्या पनि सीमित छ। अरु चुनौतीमा उपचार क्रममा चाहिने विशेष परीक्षण पनि हो, जुन नेपालमा सहज रूपमा उपलब्ध छैन। केही वर्ष अगाडिसम्म यी परीक्षण नेपालमा उपलब्ध नै थिएन। रगतका नमुना विदेशमा पठाउन अनिवार्य थियो। नेपालमा यी परीक्षणहरू भर्खरै सुरु हुनथालेका छन्।
 तर यी परीक्षण हुने प्रयोगशाला राजधानीमै मात्र सीमित छन् र निजी प्रयोगशालामा यी परीक्षण अझै महंँगो छन्। यस्तो परीक्षण सुविधा राजधानीबाहेक कम्तीमा हरेक विकास क्षेत्रमा सर्वसुलभ हुन जरुरी देखिन्छ। सन् २०३० सम्ममा नेपालमा हेपाटाइटिस सीलाई मात्र उन्मूलन गर्ने हो भने प्रत्येक वर्ष कम्तीमा हेपाटाइटिस सी लागेका १० हजार व्यक्तिको उपचार गर्नुपर्ने हुन्छ। हरेक वर्ष थपिने हेपाटाइटिस सीको नयाँ संक्रमण पनि रोक्न उत्तिनै जरुरी हुन्छ। हाल नेपालमा वर्षमा ५००–७०० संक्रमित व्यक्तिको मात्र उपचार हुँदै आएको छ। हाल हेपाटाइटिस सीको उपचारमा प्रतिव्यक्ति करिब १ लाख रुपैयाँ लाग्ने गरेको छ। तर सरकारले हेपाटाइटिस सी विरुद्ध राष्ट्रिय नीति ल्याउने र हेपाटाइटिस उन्मूलन कार्यक्रम सुरु गर्ने हो भने उपचार खर्च प्रतिव्यक्ति ३० हजारदेखि ४० हजार रुपैयाँसम्ममा हुनसक्छ। हेपाटाइटिस सीको उन्मूलन भने वास्तवमा महंँगो छैन।
 सिधा हिसाब गर्ने हो भने पनि सरकारले प्रत्येक नेपाली नागरिकमा प्रतिवर्ष २० रुपैयाँको दरले १० वर्षसम्म खर्च गर्नसके निशुल्क उपचारबाट नेपालमा हेपाटाइटिस सी उन्मूलन हुनसक्छ। सही नीति निर्माण र हेपाटाइटिस उपचारका लागि प्रभावशाली कार्यक्रम वास्तवमै सरकारलाई ठूलो चुनौतीको विषय हो। तर यस क्षेत्रमा सरकारले गर्ने लगानी सुरुमा अलि बढी देखिए पनि कालान्तरमा गएर सिरोसिस वा क्यान्सर भइसकेपछि त्यसको उपचार गर्नुभन्दा निकै प्रभावकारी सावित हुनेछ। सरकारी निकायबाट पूर्णरूपमा निशुल्क उपचार सम्भव नभए सरकारी र निजी क्षेत्रको साझेदारीमा पनि यस्ता कार्यक्रम अगाडि बढाउन सकिन्छ।
 सूक्ष्म लगानी र न्युनतम ब्याजदरमा किस्ताबन्दी कार्यक्रमबाट पनि एकमुष्ठ रूपमा उपचार खर्च गर्न नसक्ने बिरामीलाई राहत मिल्न सक्छ। विश्व हेपाटाइटिस दिवसका अवसरमा संसारभरि नै हेपाटाइटिस उन्मूलनको नारा लाग्दै गर्दा हामी पनि नेपालमा यस रोगलाई कसरी परास्त गर्न सकिन्छ भन्नेबारे सोच्न जरुरी देखिन्छ। श्रेष्ठ अल्का अस्पतालमा कार्यरत कलेजो रोग विशेषज्ञ हुन्। 

Labels: Health, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana