• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News » नुन कति खाने ? दिनहुँ पाँच ग्रामभन्दा कम नुन खाने गरे रक्तचाप कम हुन्छ ।
नुन कति खाने ? दिनहुँ पाँच ग्रामभन्दा कम नुन खाने गरे रक्तचाप कम हुन्छ ।

तपाईं नुन खानेहरूमध्ये कुन समूहमा पर्नुहुन्छ ? धेरै बढी वा आवश्यकताभन्दा पनि अत्यन्त कम खाने वर्गमा ? दुइटै ठीक होइन । धेरै बढी नुन खाने मात्र हैन, यदि तपाईं नुन चाहिनेभन्दा कम खानुहुन्छ भने पनि स्वास्थ्यसम्बन्धी जोखिममा हुनुहुन्छ । विज्ञहरूका अनुसार, नुनको सेवन तरबारका दुई धारझैं हुन्छ । बढी खाए पनि समस्या, कम खाए पनि कठिनाइ । हामीले खानामा उपयोग गर्ने नुनलाई विज्ञानको भाषामा सोडियम क्लोराइड भनिन्छ । जब सोडियम र क्लोरिनको एउटा–एउटा अणु आपसमा मिल्छ तब नुन अर्थात् सोडियम क्लोराइडको एउटा कण बन्छ ।

 सोडियम शरीरलाई अत्यन्त चाहिने ‘इलेक्ट्रोलाइट’ मध्ये एक हो । मुटुको खुम्च्याइ, धड्कन निर्धारण, मस्तिष्क कोषिकाको क्रियाकलाप जस्ता मानव जीवनका लागि चाहिने अपरिहार्य गतिविधिमा सोडियमको सबैभन्दा ठूलो महत्त्व हुन्छ । आममानिसको रगतमा सोडियमको मात्रा १३५–१४५ मिलि इक्युभेलेन्ट प्रतिलिटर हुन्छ । कुनै कारणले यसको मात्रामा कमी आउँदा कमजोरी, रिँगटा, वाकवाकी, बेहोसी, छारे रोग (एपिलेप्सी) को लक्षण देखिन थाल्छ । कतिपय अवस्थामा व्यक्तिविशेषको मृत्युसमेत हुन सक्ने मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन् । रगतमा सोडियमको मात्रा ११०–११५ मिलि इक्युभेलेन्ट प्रतिलिटरभन्दा कम हुँदा मस्तिष्कसँग सम्बन्धित लक्षण देखिने गर्छ ।

 शरीरमा सोडियम कम हुने प्रमुख दुई कारण हुन्– खानामा नुनको मात्रा निकै कम गर्नु वा रक्तचाप र मुटुसम्बन्धी रोगमा उपयोग गरिने औषधिको साइड इफेक्ट । तर मुटु, मृगौला, कलेजोसम्बन्धी रोगमा समेत सोडियमको मात्रा कम हुने डा. ओममूर्ति बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार, दिनहुँ ५ ग्रामभन्दा बढी सोडियम अर्थात् नुनको सेवन गर्नु वा शरीरमा अपर्याप्त पोटेसियमको आपूर्ति हुनु अर्थात् ३.५ ग्राम प्रतिदिनभन्दा कम हुनुले उच्च रक्तचाप बढ्न सघाउँछ, मुटु रोग र स्ट्रोकको जोखिम बढाउँछ । धेरैजसो व्यक्तिले ९–१२ ग्राम नुन प्रतिदिन खाने गर्छन् । यो प्रस्तावित मात्राको दोब्बर हो । वयस्क व्यक्तिले दिनहुँ पाँच ग्रामभन्दा कम नुन खाने गरे रक्तचाप कम हुन्छ ।

साथै, मुटु र रगतको नलीसम्बन्धी रोग, स्ट्रोक र कोरोनरी हार्ट अटयाकको जोखिमसमेत कम हुन्छ । नुनको सेवनमा कमी ल्याउनाले उच्च रक्तचाप घट्दै आउने डब्लूएचओले जनाएको छ । यदि विश्वव्यापी रूपमा नुनको उपयोग प्रस्तावित मात्रा अनुसार गरिए वर्षेनी २५ लाख व्यक्ति मृत्युको मुखबाट जोगिन सक्ने डब्लूएचओको आकलन छ । डब्लूएचओले वयस्क स्वस्थ व्यक्तिका लागि दिनहु पाँच ग्रामभन्दा कम अर्थात् एक चिया चम्चाजति नुन उपयोग गर्न प्रस्तावित गरेको छ । उपयोग गर्ने नुनमा आयोडिन मिसाइएको हुनुपर्छ । ‘उच्च रक्तचाप धेरै कारणले हुन्छ, यसमा नुनको अत्यधिक सेवनसमेत एउटा कारण हो,’ डा. ओममूर्ति भन्छन्, ‘तर नुनको प्रयोग मात्र घटाएर उच्च रक्तचाप नियन्त्रण गर्छु भन्नु गलत हो ।’ यद्यपि नुनको प्रयोग कम गर्नेबित्तिकै माथिल्लो रक्तचाप ५ देखि १० एमएम अफ मर्करीसम्म घटाउन सकिन्छ, तथापि यसरी नै रक्तचाप घटाउने प्रयास गर्दा शरीरमा सोडियमको मात्रा कम भएर रातारात अस्पताल कुदाउनुपरेका घटनाहरू धेरै भएको उदाहरण दिँदै डा. ओममूर्ति भन्छन्, ‘सोडियम कम भएर सिकिस्त भएका र मृत्युको नजिक पुगेकाहरूसमेत धेरै छन् ।’ रक्तचापमा उपयोग गरिने औषधिले समेत शरीरमा सोडियमको मात्रा काम गर्न सक्छ । यसैले उच्च रक्तचापका प्रत्येक बिरामीले कति मात्रामा नुन खाने भन्नेबारे चिकित्सकसँग छलफल गर्नैपर्छ । सामान्यत: नुनको सेवन बढी गर्दा स्ट्रोक, उच्च रक्तचाप, ह्दयाघात लगायतको जोखिम हुन्छ ।

यसैले सामान्य स्वथ्य व्यक्तिले दिनहुँ पाँच ग्रामभन्दा कम र मुटु रोगी वा उच्च रक्तचाप भएकाहरूले दुईतीन ग्राम नुन खानुपर्ने औँल्याउँदै डा. ओममूर्ति भन्छन्, ‘हाम्रो भान्सामा नापेर नुनको उपयोग गर्ने चलन नरहेकोले यसको उपभोगमा विशेष ध्यान आवश्यक हुन्छ ।’ स्वस्थ व्यक्तिले दिनहुँ एक सय मिलिग्रामजति सोडियम खान मिल्ने उल्लेख गर्दै ओममूर्ति थप्छन्, ‘६ ग्राम नुनमा २.४ ग्राम सोडियम क्लोराइड र एक सय मिलिग्राम सोडियम हुन्छ ।’ यसैले सोडियम बढी भएका खानेकुरा उपयोग गर्नबाट सम्भव भएसम्म जोगिनुपर्छ । फलफूल, सागसब्जी, सलादमा नुन छर्कनु हुँदैन । अझ खानामा नुन थपेर खाने बानी तुरुन्त बन्द गर्नुपर्छ । खाना पकाउँदा सकेसम्म नुनको प्रयोग कम गर्दै जानुपर्छ । नेपाल र भारतजस्ता मुलुकमा एक व्यक्तिले सरदर १० ग्रामभन्दा बढी नुनको उपयोग गर्ने उल्लेख गर्दै डा. ओममूर्ति सचेत गराउँछन्, ‘बजारमा पाइने खानेकुरालाई लामो समयसम्म खान योग्य बनाउन राखिएको प्रिजरभेटिभमा सोडियमको मात्रा धेरै बढी हुन्छ ।

 अचारमा हेर्दा थोरै भए पनि यसमा धेरै नुन हुन्छ । केही खानेकुरा कम नुनिलो लागे पनि तिनमा सोडियम धेरै बढी हुन्छ ।’ विज्ञहरूका अनुसार, नुनको मात्रा कम गर्न सकेसम्म घरबाहिर खाद्य पदार्थ खानु हुँदैन । होटलमा एक दिनको खाना खानाले शरीरमा दुई सातासम्मका लागि उच्च सोडियमको मात्रा पुग्न सक्छ । नेपाली भान्सामा प्रयोग गरिने पापड, अचार, फ्रेन्च फ्राई, चिप्स, फास्ट फुड लगायतका बढी समयसम्म संरक्षित राखिएका खाद्य पदार्थमा सोडियमको मात्रा बढी हुन्छ । हाम्रो खानामा सोडियमको मुख्य स्रोत नुन नै हो । तर यो सोडियम ग्लुटामेट अर्थात् अजिनोमोटोका माध्यमले पनि शरीरभित्र पुग्न सक्छ ।

Labels: Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana