मधेस आन्दोलनमा ज्यान गुमाउनेका परिवार निराशामा
२४ असार सप्तरी - ‘तपाईंहरुलाई के कुराको कमी छ र ?’ एउटा निजी क्लिनिकमा भिडियो एक्सरे गर्न पुगेकी पुनम साहलाई कर्मचारीले यस्तो घोचपेच गरे ।
मधेस आन्दोलनमा श्रीमान गुमाएकी उनी केही छुट पाइन्छ कि भनेर आग्रह गर्दै थिइन् । तर, छुटको साटो तिखो जवाफ पाइन् । कर्मचारीले थपे, ‘सरकारले क्षतिपूर्ति दिएको छ । अरु पनि थुप्रैले सहयोग गरेका छन् । तपाईंहरु त धनी भइसक्नुभयो होला ।’
पुनमले यस्तो शब्द पहिलोचोटि सुनेकी भने होइनन् । जहाँ जाँदा पनि यस्तै घोचपेच झेल्नुपर्छ अचेल उनले । उनका श्रीमान् दिलिप साहको गत ७ मंसिरमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
पुनम भन्छिन्, ‘अहिलेसम्म कतैबाट सहयोग पाउन सकेकी छैन ।
छोराछोरीलाई पढाउन र घर खर्च चलाउन धौधौ छ । दुनियाका कुरा सुन्दा त श्रीमानले दिएको बलिदानी बेकार रहेछ जस्तो लाग्छ ।’
उनले आफ्नो श्रीमानलाई अहिलेसम्म शहीद घोषणासमेत नगरेको भन्दै दुःख व्यक्त गरिन् ।
प्रहरीको गोली लागेर ज्यान गुमाउने डाढा गाविसका बिरेन्द्र रामका पिता सकलदेव पनि गाउँ-समाजका कुरा सुनेर दिक्दार छन् । ‘ल अब त लाखौं पाउने भयौं, मालामाल हुने भयौ भनेर कुरा गर्छन्’ उनले भने, ‘तर, हामीलाई गुजारा चलाउनै धौधौ छ ।’


0 comments
Write Down Your Responses