मुलुककै प्रमुख स्थानीय विकास मन्त्रालयबाट ल्यापटपसहित एक लाख गायब !
१२ साउन, काठमाडौं । मुलुककै प्रमुख प्रशासनिक निकाय हो सिंहदरवार । सेना, प्रहरी, गुप्तचरमात्रै होइन सिसि टिभी क्यामराबाट समेत चौबिसै घण्टा निगरानी भइरहन्छ सिंहदरवारमा । कर्मचारी र सेवाग्राहीको चहलपहल भइरहने त्यही सिंहदवार भित्र सुरक्षाको प्रवन्ध कति फितलो रहेछ भन्ने कुरा बुधबारको एक घटनाले चरितार्थ भएको छ ।
स्थानीय विकास मन्त्रालयका उपसचिव चिरन्जिवी तिमल्सिनाको कार्यकक्ष भित्रैबाट आइफोन, ल्यापटप र एक लाख रुपैयाँ नगद बुधबार दिउँसै गायब भएको छ । ‘कार्यालयमा आइसकेपछि मेरो कोठामा सामान राखें । अनि अर्को मिटिङमा गएँ । पैतालिस मिनेटपछि फर्किंदा सामान थिएन,’ उनले भने । उनले एक लाख रुपैयाँ आफूले ऋण तिर्नलाई ल्याएर आएको बताएका छन् ।कर्मचारीहरुले नगद र ति सामान चोरी भएको बताएका छन् । तर, कसले चोर्यो भनेर खुलेको छैन ।
चोर पत्ता लगाउन प्रहरीले मन्त्रालयका सबै कर्मचारीहरुलाई खानतलासी गरेको छ । मन्त्रालयभित्र केही फेला नपरेपछि अहिले सिंहदरवारको दक्षिण गेटबाट बाहिरिनेहरु सबैको शरिर र झोला प्रहरीले खानतलासी गरिरहेको छ । मन्त्रीको गाडी बाहेक कार, भ्यान, मोटरसाइकल, साइकल, र पैदल यात्रुहरुलाई पनि प्रहरीले जाँच गरिरहेको छ । अहिले सिंहदरवारमा प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको छ ।


0 comments
Write Down Your Responses