वर्षायाम सुरु हुनासाथ कान किन दुख्छ ? यी हुन् कारण
वर्षायाम सुरु हुनासाथ अन्य कानभित्र एकदमै चिलाउने, दुख्ने भएर चिकित्सककहाँ पुग्नेहरूको संख्या बढो छ । कानको नलीमा ढुसी (फंगस) को संक्रमण अर्थात् अटोमाइकोसिसका कारण हुने गर्छ यस्तो समस्या । कानमा ढुसीको संक्रमणसमेत भनिने यो समस्याले प्रभावितहरू अन्य मौसममा आक्कलझुक्कल चिकित्सककहाँ पुग्ने गरे पनि वर्षा लागेपछि यो क्रम बढ्ने गर्छ । ‘हामीकहाँ यो मौसममा उपचार गराउन आउने सयजनामध्ये पाँच/छ जनामा अटोमाइकोसिसको समस्या पाइने गरेको छ,’ त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागका प्रमुख डा. राजेन्द्र गुरागाईं भन्छन् ।
कुनै कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू यो संक्रमणबाट पीडित भएमा जटिलता देखिन सक्ने बढी सम्भावना हुन्छ । एस्पर्जिलस नाइगर र क्यान्डिडा एल्भिकेन्स नामक फंगसका कारण यो संक्रमण हुन्छ । ‘फंगसहरूले कानभित्र बनाएको फोहोर पदार्थ पहेँलोजस्तो भए एल्भिकेन्स र कालो भए नाइगर फंगसले गर्दा यो संक्रमण भएको बुझिन्छ,’ डा. गुरागाईं भन्छन्, ‘वातावरणमा आर्द्रता र कानभित्रको गर्मी यो फंगसलाई बढाउन सहायक हुन्छ । यस्तो हुँदा फंगसले फस्टाउने मौका पाउँछ ।’ यस्तो संक्रमण नहोस् भन्नाका लागि कानको नलीलाई सुक्खा राख्नुपर्छ । कानभित्र पानी पस्न दिनु हुँदैन । तेल पनि हाल्नु हुँदैन । मधुमेही, क्यान्सर रोगी, केमोथेरापी गराइरहेका, मृगौला प्रत्यारोपण गराएका वा डायलासिस गराइरहेका, शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकाहरूको कानमा फंगस उत्पन्न हुने समस्या बढी हुन्छ । कानमा जथाभावी थोपा औषधि हाल्ने गर्दा पनि यस्तो समस्या निम्तिने गर्छ । यस्तो फंगसले पछि गएर कानको संक्रमण उत्पन्न मात्रै नगरेर यो शरीरका अन्य अंगमा समेत फैलिन सक्छ । यसले कानको पर्दामा असर र श्रवणशक्ति प्रभावित हुन्छ । कान सफा नगरौं कान आफैँ सफा हुने अंग हो ।
यो अंगलाई कुनै पनि प्रकारको सक्रिय सफाइको आवश्यकता हँुदैन । ‘सडकको छेउछाउ पिर्का लिएर बसेकाहरूबाट कान सफा गर्ने वा आफँै कुनै वस्तु कानमा हालेर सफा गर्ने नगरौं,’ डा. गुरागाईंको सुझाव छ, ‘कानलाई स्वच्छ कपडाले बाहिरबाट मात्र सफा गर्ने गर्नुपर्छ । कानभित्र केही पसाएर सफा गर्ने गर्नुहुन्न ।’ के नगर्ने ? कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने नुहाउँदा, पौडी खेल्दा कानभित्र पानी पस्न नदिने कान जथाभावी सफा नगराउने कपालमा चाया पर्ने नदिने, नत्र चाया कानभित्र पुगेर समस्या उत्पन्न हुन सक्छ लक्षण कान चिलाउनु र दुख्नु कानभित्र रातो हुनु कानबाट पहिले तरल पदार्थ र पछि पिपजस्तै निस्किनु कान बन्द भएको जस्तो लाग्नु कानभित्र सुन्निनु के हो फंगस ? अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, फंगस हाम्रो चारैतिर हुन्छ ।
पृथ्वीमा १५ लाख विभिन्न प्रजातिका फंगस छन् । तर तीमध्ये करिब तीन सयजति फंगसले मात्र मानिसलाई अस्वस्थ बनाउँछन् । कानमा यस्तो रोग वातावरणमा सामान्य रूपले पाइने फंगसबाट हुने गरेको छ । फंगस घरबाहिर माटो, बोटबिरुवासँगै धेरै घरभित्रको भाग र मानिसको छालामा हुन्छ । उपचार कान चिलाए वा दुख्न थाले तुरुन्त स्वास्थ्यकर्मी वा नाक, कान, घाँटी विशेषज्ञकहाँ पुग्नुपर्छ । चिकित्सकले विशेष प्रक्रियाअन्तर्गत कानको फोहोर निकालेर सफा गर्छन् । यसबाट कानको नलीलाई सुक्खा हुन सघाउ पुग्छ । यो संक्रमणमा फंगसविरुद्घ दिइने थोपा औषधिसँगै कसैकसैलाई कहिलेकाहीँ खाने एन्टिबायोटिक पनि दिइन्छ । डा. गुरागाईं भन्छन्, ‘तर अनधिकृत व्यक्तिसँंग आफूखुसी सोधेर जे पायो त्यही औषधि खाने वा कानमा हाल्ने गर्नु हुँदैन ।’


0 comments
Write Down Your Responses